पोखरा । ६ किलो ४ सय ग्राम अवैध सुनका गरगहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सुनका गरगहनासहित ४ सय ४४ तोला चाँदी समेत बरामद भएको प्रहरीले शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका राजेन्द्र रामचन्द्र जगताप, सुनिता पवार, कोलकत्ताका मनिक लाल आदक, असित वर, तापस सामन्त, उज्ज्वल भौतिक,पश्चिम बंगालका सन्दिप ढाव,सोमनाथ पाल, दीपक सामन्त, गोविन्द दिण्डा, प्रोभास माझी छन् ।
पक्राउ परेकामध्ये राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल, नगद १ लाख ६० हजार ५ सय बरामद भएको छ । मनिकको साथबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, सन्दिप ढावको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथ पालको साथबाट सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल, दीपक सामन्तको साथबाट सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल र गोविन्द दिण्डाको साथबाट सुन २ सय १० तोला ८९ लाल बरामद भएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै, असित वरको साथबाट ८६ तोला ८७.१ लाल सुन र ३१.५ लाल चाँदी, तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, उज्ज्वल भौमिकको साथबाट ५ तोला ४६.९ लाल सुन, सुनिता पवारको साथबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी तथा प्रोभास माझीबाट ८८ तोला ३१ लाल सुन र नगद १ लाख ८५ हजार बरामद भएको ओलियाले जानकारी दिनुभयो ।
अर्का एक जना कारोबारी सञ्जय ढाव भने प्रहरी आउने सूचना पाएपछि फरार भएका छन् । प्रहरीले अपरेसन चलाएको पत्तो पाएपछि उनी १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १५५ रुपैयाँ छोडेर भागेका हुन् । ‘अपरेसन एलो मेटल’ को उक्त कारबाहीबाट प्रहरीले ठूलो सफलता हात पारेको ओलियाले बताउनुभयो ।
पोखराका २, ३, ४ र ९ का विभिन्न क्षेत्रमा अवैध रूपमा सुनचाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना आएको थियो,’ उहाँले भन्नुभयो, ‘हामीले प्रदेश प्रहरीको समेत सहयोगमा उनीहरूलाई पक्राउ गरेका छौं ।’
पक्राउ परेका अधिकांश सुनचाँदी व्यवसायमा संलग्न कालिगढहरू हुन् । पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो ।





