काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले सुनचाँदी व्यवसायीको विद्यमान समस्याहरु चाँडै समाधान हुने बताउनुभयो।
मकवानपुर सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरूको उपस्थितिमा आइतवार महासंघको सचिवालय नक्सालमा भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो।
मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार शाक्यको नेतृत्वमा सहभागी टोलीले सुनमा लगाइएको विलासिता कर र हीरा तथा बहुमूल्य पत्थरहरूमा लगाइएको भ्याट खारेजीको लागि महासंघले आफ्नो अडान यथावत राख्न अनुरोध गर्नुभयो ।
त्यस्तै छलफल कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले यतिबेला कार्यदल छलफलमा रहेकोले ढुक्क भएर पुरानै बिल अनुसार व्यवसाय संचालन गर्न आग्रह गर्नुभयो।
छलफल कार्यक्रममा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ, महासंघका कोशी प्रदेश अध्यक्ष रमेश रसाईली, बागमति प्रदेश अध्यक्ष ज्योति रत्न बज्राचार्य, केन्द्रीय सदस्य जयप्रकाश गजमेरको उपस्थिति रहेको थियो।




