चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई स्वागत तथा सम्मान गरेको छ ।
आइतवार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजित समुदाय-प्रहरी साझेदारी छलफल तथा अन्तरक्रिया कार्यक्रममा एसपी पुरीलाई संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले पुष्पगुच्छा अर्पण गर्दै स्वागत तथा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले एसपी पुरीलाई अनुरोध पत्र हस्तान्तरण गर्दै सुनचाँदी व्यवसायीहरूको शान्ति सुरक्षाको सवालमा विगत लामो समयदेखि सुनचाँदी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको साथै आगामी दिनमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा एसपी गोविन्द पुरीले सुनचाँदी व्यवसायीहरूको समस्याहरु निराकरणको लागि हातेमालो गरेर आफू अघि बढ्ने बताउनुभयो।
व्यवसायीहरूको सुरक्षाको निमित्त हामी अहोरात्र खटिएका छौं, त्यसैले ढुक्कसंग व्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो।
उहाँले सुनचाँदी व्यवसायीहरूको शान्ति, सुरक्षा र अमनचयनमा कुनै कसर नराख्ने बताउँदै व्यवसायीहरूको तर्फबाट पनि सहकार्यको अपेक्षा राख्नुभयो ।
उहाँले संकास्पद सामान लिनुपर्ने अवस्था आएमा सम्बन्धित व्यक्तिको नागरिकता वा त्यो पनि नभएको खण्डमा ३ जना साक्षीहरूको रोहवरमा कारोबार गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले प्रहरी कार्यालय परिसरमा सुनचाँदी व्यवसायीहरूको गुनासोहरू सुन्नको लागि हेल्प डेस्क स्थापना गर्न सुझाव दिनुभयो। उहाँले कसुरदार प्रमाणित नभइ हतकडी लगाएर लैजाने परिपाटीको अन्त्य गर्न अनुरोध भयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता अधिवक्ता जीवन ज्योति विश्वकर्मा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल सुनचाँदी व्यवसायी महासंघका बागमति प्रदेश सदस्य दिनेश खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्षहरु ज्ञानेन्द्रमान शाक्य, चित्रबहादुर विश्वकर्मा, संघका उपाध्यक्ष मोहन पन्थी, अनुगमन समिति संयोजक भोजराज सेन्चुरी, लेखा समिति संयोजक खड्क बहादुर विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी निवर्तमान अध्यक्ष शान्ता थापा वि.क, तृतीय उपाध्यक्ष मीना सुनारले आफ्नो धारणाहरु राख्नुभएको थियो।
संघका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव गोपाल बहादुर वि.क थापाले सहजीकरण गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो।



