चितवन । सुनचाँदी गरगहनामा लगाइएको अव्यवहारिक करहरू खारेजीको माग गर्दै चितवनका सुनचाँदी व्यवसायीहरूले भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज सोमवार प्रमुख कर अधिकृत पुण्य विक्रम खड्कालाई ज्ञापन पत्र बुझाएका हुन्।
सुनचाँदी गरगहनामा लगाइएको अव्यवहारिक करको व्यवस्थाले सुनचाँदी व्यवसायलाई थप संकटमा पार्ने भएकोले उक्त करको व्यवस्था खारेज गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले ज्ञापनपत्र बुझाएको हो ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर, हीरा तथा पत्थरहरूमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग सहित नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशन अनुसार ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, जिल्ला संघ चितवनकी तृतीय उपाध्यक्ष शोभा बराली , महासचिव गोपाल बहादुर वि.क थापा, प्रवक्ता लाल बहादुर विश्वकर्मा, कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर र सहकोषाध्यक्ष भीमप्रसाद वि.कको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।



