आर्थिक वर्ष २०८१/८२ मा ४४ हजार ५ सय रुपैयाँले महंगियो सुन

काठमाडौं। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रूपमा बढिरहेको छ । अहिले सुनको मूल्य २ लाख रुपैयाँको हाराहारीमा पुगेको छ, जुन नेपाली इतिहासमै सर्वाधिक उच्च विन्दु नजिक पुगेको अवस्था हो। नेपाली बजारमा हालसम्म सुनको उच्च मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ रहेको छ । जुन गत वर्षको वैशाख ९ गते कायम भएको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा भने नेपाली बजारमा सुनको मूल्य ४४ हजार ५ सय रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो दिन साउन १ गते प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । यो एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४४ हजार ५ सय रुपैयाँले महंगो भएको छ ।

७ वर्षमै १ लाख ३३ हजार बढीले बढोत्तरी

गत आर्थिक वर्षमा ४४ हजार ५ सय रुपैयाँले बढेको सुनको मूल्य पछिल्लो ७ वर्षको अवधिमा १ लाख ३३ हजार ५ सय रुपैयाँले बढेको छ । २०७५ सालको वैशाख महिनामा प्रतितोला ५८ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते १ लाख ३३ हजार ५ सय रुपैयाँले महंगो भएर प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

अहिलेको हिसावले हेर्दा केही सस्तो जस्तो लागेको भए पनि सुनको मूल्य प्रतितोला ५८ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा त्यो समयमा त्यो मूल्य उच्च नै थियो ।

सुनको मूल्य नेपालीहरुका लागि सधै महंगो हुने र आवश्यकता अनुसार नै त्यो खरिद हुने गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले बताउनुभयो । ‘नेपाली बजारमा सुनको मूल्य ८ हजारको तोलामा कारोबार हुँदा पनि मंहगो नै थियो । अहिले २ लाख पुग्न लाग्दा पनि सुनको मूल्य महँगो नै छ,’ उहाँले भन्नुभयो ।

आजभन्दा २३ वर्ष पहिले २०५९ सालमा सुनको मूल्य जम्मा ९ हजार रुपैयाँ प्रतितोला थियो । २०५९ सालको वैशाख महिनामा सुनको मूल्य ९ हजार ३ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री हुने गरेको थियो । २०५९ सालको भन्दा चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते सुनको मूल्यमा १ लाख ८३ हजार रुपैयाँले मंहगो भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा नै सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएकाले सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य भन्दा ग्राहकले धेरै मूल्य तिर्नु परिरहेको छ । अहिले सुनको मूल्यमा विलासिता कर लगाउँदा उपभोक्ताले २ लाख ८ हजारको हाराहारीमा एक तोला सुनका लागि खर्च गर्नु पर्ने अवस्था देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष दियेश रत्न शाक्यले बताउनुभयो ।

करले कस्तो प्रभाव पारेको छ भन्ने विषयमा अहिले नै यकिन भन्न नसकिने उहाँको भनाइ छ । ‘अहिले साउन महिना भएकाले पनि सुनको माग कमै हुन्छ । विलासिता कर लागू भएको पनि १२ दिन मात्रै भएको अवस्थामा विश्लेषण गर्न छिटो हुन्छ,’ उहाँले भन्नुभयो । विलासिता कर पनि लगाएकाले अहिले ग्राहकहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय