नेपालको सुनचाँदी व्यवसाय आज संकट र संक्रमणको दोभानमा उभिएको छ। एकातर्फ सरकारी नीतिहरू भ्याट, विलासिता कर, गो एम एल, केवाइसी जस्ता कानुनी चक्रव्यूहमा फस्दै छन्, अर्कोतर्फ व्यवसायीहरू पारदर्शिता, आत्मविश्वास र एकताको खडेरीमा छन्। यस्तो जटिल परिवेशमा यथार्थ रिपोर्टिङ, तथ्यमा आधारित विश्लेषण, र सबै पक्षलाई सुन्ने माध्यमको आवश्यकता आज झन् गहिरो बनेको छ।
यही आवश्यकता महसुस गर्दै, हामी स्वर्ण खबर अनलाइनलाई पुनः सक्रिय बनाउँदैछौं-नयाँ ऊर्जा, थप जिम्मेवारी र स्पष्ट पत्रकारिता दृष्टिकोणसहित।
स्वर्ण खबरको उद्देश्य केवल समाचार लेख्ने होइन; यो सुनचाँदी व्यवसायमा सत्य, सन्तुलन र समाधानको आवाज बन्ने हो। हामी न त कुनै संघको प्रवक्ता हौं, न कुनै गुटको भजनमण्डली। हामी त स्वतन्त्र, तथ्यपरक र उत्तरदायित्वपूर्ण पत्रकारितामा विश्वास राख्छौं-जहाँ व्यवसायीको पीडा, सरकारको नीति, उपभोक्ताको अधिकार र कानुनको सन्दर्भ एकै ठाउँमा निष्पक्ष ढंगले विश्लेषण हुन्छ।
स्वर्ण खबरको पुनरागमन कुनै आकस्मिकता होइन, यो आवश्यकताको उपज हो। जब बजारमा हल्ला र आरोपको खेती मौलाउँछ, तब विश्वसनीयता र जिम्मेवारी बोकेको आवाजको खाँचो झन् तीव्र हुन्छ। स्वर्ण खबर त्यस खाँचोलाई पूर्ति गर्ने हाम्रो साझा प्रयत्न हो।
यस अनलाइन पत्रिकाको पुनः सुरु हुनु कुनै एक संस्थाको गर्व होइन, यो सम्पूर्ण सुनचाँदी क्षेत्रको साझा सम्पत्ति बन्ने यात्राको सुरुआत हो। हामी केवल लेख्ने होइन, सुनिने, जाँचिने र प्रश्न उठाउने संस्कृतिको पुनर्स्थापना गर्ने संकल्पका साथ आएका छौं।
हामी जान्दछौं-विश्वास समयले बनाउँछ, शब्दले मात्र होइन। त्यसैले आजदेखि हाम्रा प्रत्येक सामग्री, हरेक शीर्षक र सम्पूर्ण दृष्टिकोणमा इमानदार पत्रकारिता र व्यवसायप्रतिको संवेदनशीलता झल्किनेछ।
हामी यहाँ छौं-व्यवसायको न्यायको लागि, उपभोक्ताको हितको लागि, र पारदर्शी व्यवस्थापनको पक्षमा बोल्न। स्वर्ण खबर अब फेरि तपाईँसँगै छ-सुनचाँदी व्यवसायको जिम्मेवार दर्पणको रूपमा।



