नेपालमा सुनचाँदी व्यवसायीहरूको योगदान धेरै पक्षमा महत्वपूर्ण मानिन्छ। तिनीहरूको योगदान केवल आर्थिक क्षेत्रमै सीमित छैन, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षमा पनि गहिरो प्रभाव परेको छ।
सुनचाँदी व्यवसायले हजारौं मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगार दिएको छ- जस्तै सुनचाँदीका कालिगढ, विक्रेता, आपूर्तिकर्ता, तथा व्यापारीहरू, वा सुनचाँदी उद्योगबाट लाखौं नेपालीले जीविका कमाइरहेका छन् ।
सरकारलाई कर र राजश्व मार्फत महत्वपूर्ण योगदान पुगाउने व्यवसाय मध्ये सुनचाँदी पनि एक हो। अहिले वैदेशिक पर्यटकहरू नेपाली गहनाप्रति आकर्षित देखिएकोले उनीहरूले गहना खरिद गर्ने र सो कार्यबाट विदेशी मुद्रा भित्र्याउने काम सुनचाँदी व्यवसाय मार्फत हुने गर्छ।
सुनचाँदीका गहनाहरू नेपाली संस्कृति, जातीयता, परम्परा, र धार्मिक अभ्याससंग गहिरो सम्बन्ध रहेको छ । सुनचाँदी व्यवसायले परम्परागत नेपाली डिजाईन, कलात्मकता र मूर्तिकला (जस्तै: देवदेवीका मुर्ति, जातीय गहना) जोगाइराख्न मद्दत गर्छ। यसरी हेर्दा सुनचाँदी गहनाको निर्माण कार्यले नेपाली कला र संस्कृति जगेर्ना गर्नुका साथै पारम्परिक हस्तकला संरक्षण गर्दै आएको छ ।
नेपाली पहिचान झल्काउने परम्परागत गहना (जस्तै: पोते, तिलहरी, फूलचोकी झुम्का, मूखुटी, कण्ठी आदि) अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय हुँदै छन्, जसले नेपालको सांस्कृतिक निर्यातमा मद्दत गरेको छ। त्यस्तै गरेर सुनचाँदी व्यवसायीहरूले सामाजिक सेवा, धार्मिक कार्यक्रम, महायज्ञ, जात्रा, मन्दिर निर्माण, छात्रवृत्ति आदि क्षेत्रमा सहयोग गर्ने परम्परा राखेका छन्।
पछिल्ला वर्षहरूमा केही व्यवसायीहरूले गहनाको डिजाइनमा कम्प्युटर एडेड डिजाइन (CAD) प्रविधि, अनलाइन विक्री प्रणाली, र मार्केटिङमा नवीनता ल्याएका छन् । यसले डिजिटल र डिजाइन प्रविधिमा परिवर्तनमा समेत टेवा पुगेको छ । नेपालका सुनचाँदी व्यवसायीहरू केबल गहना बेच्ने व्यापारी मात्र होइनन्। उनीहरू नेपाली कला, संस्कृति, परम्परा र अर्थतन्त्रका संवाहक पनि हुन्। उनीहरूको योगदानको उचित सम्मान र संरक्षण गर्न सके देशको आर्थिक र सांस्कृतिक उन्नति दुवैमा टेवा पुग्छ। यसको अलवा विवाह, ब्रतबन्ध, न्वारान, दान- पुजामा सुनको प्रयोग अनिवार्य जस्तै छ।
हिन्दू धर्मअनुसार तिलहरी, मङ्गलसुत्र, पोते आदि बिना विवाह अधुरो मानिन्छ। त्यसैले सुनचाँदीको सांस्कृतिक र धार्मिक महत्व छ । सुनलाई “चल सम्पत्ति” मानिन्छ । जुन आपतकालिन स्थीतिमा विक्री गर्न सकिन्छ। अफ्ठारो समयमा बैंकहरूमा सुन धितो राखेर ऋण लिन सकिन्छ । यो आम नेपालीको पहुँचको औजार हो। ग्रामीण समाजमा सुनलाई महिलाको “असुरक्षित समयका लागि खजाना” मानिन्छ।
माईतीले दिएको सुनलाई दाजुभाइको मायाको चिनो मानिन्छ। यि सबै कारणहरूले नेपालको समाजमा सुन केबल विलासिता होइन, सांस्कृतिक, धार्मिक र आर्थिक आवश्यकता हो। नेपाली समाजमा सुनचाँदीका गरगहनाको महत्वलाई मनन गरेर नै देवानी संहितामा नै सुनचाँदीलाई नगद सरहको मान्यता दिइएको छ । त्यसैले यसमा “विलासिता कर” लगाउनु अनुचित छ।
यद्यपी अहिलेको अवस्थामा सुनचाँदी महंगो हुँदै गइ रहेका कारण, न्यून र मध्यम वर्गको पहुँचबाट टाढिँदै गइरहेको छ । कहिले काँही सुनचाँदीका गरगहनाको प्रयोगमा गहना निर्माणमा प्रतिस्पर्धा भएको खण्डमा यसले मध्यम वर्गीय परिवारमा आर्थिक दबाव सिर्जना गर्न पनि सक्छ । पछिल्लो चरण नेपालमा सुनचाँदी गहनामा सुन तस्करी, अवैध कारोबार, र विदेशी मुद्रा अपचलन नियन्त्रण हुन नसकेको भन्ने तर्कहरू पेश गरेर नै यसलाई विलासी वस्तुमा व्याख्या गर्न थालिएको छ ।
कुनै पनि वस्तु निरपेक्ष रूपमा विलासी वा आवश्यक भन्ने हुँदैन, एक त विलासी वस्तुको आवश्यकता र उपयोगिता अनुसार फरक पर्छ । जस्तै कार सर्वसाधारणका लागि विलासी हुन सक्छ भने सोहि कार एक व्यस्त डाक्टरका लागि अत्यावश्यक वस्तु हुन जान्छ । अहिले नेपाली समाजमा सुनचाँदीका गहना निरपेक्ष रूपमा विलासी भन्न मिल्दैन ।
अहिले नेपालमा देखिएको गहनामा सुन तस्करी, अवैध कारोबार, सुनचाँदीमा लादिएको कोटा प्रणाली र हालसम्म पनि सुनचाँदी व्यवसाय सञ्चालनका लागि निति निर्माण कार्यमा देखाइको विलम्बता र उपेक्षानै प्रमुख कारण हुन ।
“सुन नेपालको संस्कृति र संस्कारसंग गहिरो रूपमा जोडिएको भए पनि यसको अत्यधिक प्रयोग, मूल्यवृद्धि, र देखावटीपनले नीति निर्माणमा रहेका एक खालका मानिसहरूमा यो विलासिताको वस्तु हो कि भन्ने भ्रम सिर्जना गरिदिएको छ। समाधान भनेको अत्यधिक वा विलासिता कर होइन, सन्तुलित नीति हो । जसले पछिल्लो चरणमा अन्तर्राष्ट्रिय रूपमा बढ्दो बेराजगारी समस्या रोक्न, नेपाली कला,संस्कृति र शीप जोगाउन, र देशमा नियन्त्रणमा नभएको सुन तस्करी, अवैध कारोबार रोक्ने दुबै काम गर्न सकोस्।”
– लेखक नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष हुनुहुन्छ।



